कोरोना महामारीले भयो राप्रपाको महाधिवेशन स्थगित

१ जेष्ठ २०७८, शनिबार ०७:३३ मा प्रकाशित

कोभिड १९ को महामारी भयाभह हुँदै गएको भन्दै राप्रपाले केन्द्रीय महाधिवेशन स्थगित गरेको छ । राप्रपाले २२ देखि २५ जेठसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । यसका लागि जिल्ला र गाउँस्तरका अधिवेशन पनि भइरहेका थिए ।

राप्रपा नेता मोहन श्रेष्ठले कोभिड १९ को महामारीका कारण अनिश्चितकालका लागि महाधिवेशन स्थगीत भएको जानकारी दिए । ‘पार्टीका अध्यक्ष त्रय कमल थापा, पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीसहित कार्यव्यवस्था सचिवालय बैठकको शनिवार बसेको बैठकले महाधिवशेन स्थगीत गर्ने निर्णय गरेको हो’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘पार्टी पंक्ति अब कोरोना महामारी नियन्त्रणका लागि परिचालित हुनेछ ।’

राप्रपाले निजि क्षेत्रसँगको सहकार्यबाट स्वदेशमा र कूटनैतिक पहल गरि कोभिड १९ को महामारी नियन्त्रणका लागि अन्तराष्ट्रिय सहयोग जुटाउने प्रयास गर्न सरकारसँग मागसमेत गरेको छ । यसैगरि नागरिकको जीवन रक्षाका लागि राज्यका सम्पूर्ण सामथ्र्य प्रयोग गर्न पनि राप्रपाले माग गरेको छ ।

राप्रपाले शुरुमा महाधिवशेन बैशाख २५–२८ मा काठमाडौंमा तोकेको थियो । कोभिड महामारी बढ्दै जाँदा जेठ २२ देखि २५ सम्म महाधिवशेन तय भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !