मतदान गर्न दुई दिन बाँकी, बादललाई भोट देला त खनाल–नेपाल समूहले ?

४ जेष्ठ २०७८, मंगलवार १३:२३ मा प्रकाशित

काठमाडौं । वाग्मती प्रदेशअन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जेठ ६ गते हुँदैछ । मैदानमा एमाले–एमालेबीच नै प्रतिस्पर्धा हुने अवस्था आएपछि पार्टीका प्रदेशसभा सदस्य र पालिका प्रमुख, उपप्रमुखहरू अन्योलमा परेका छन् ।

एमाले एक्लैको ५ हजार १३० मतभार रहेको छ । कूल मतभार ९ हजार ५६६ मतभार रहेको उपचुनावमा आफ्नै भोट एमालेलाई चुनाव जित्न पर्याप्त छ ।

तर, एमाले सग्लो छैन । वाग्मती प्रदेशमा खनाल–नेपाल समूह निर्णायक मात्रै छैन । पार्टीभित्र विग्रह घनिभूत हुँदैजाँदा विपक्षी गठबन्धनलाई हातमा लिएर आफ्नो अलग्गै उमेदवार पनि खडा गरेको छ, विकेन्द्रीकरणविद् तथा प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष डा. खिमलाल देवकोटा ।

त्यसो हुँदा एमाले एक नहुँदासम्म नेकपा एमालेले आधिकारिक उमेदवार दाबी गरेको रामबहादुर थापा बादलले चुनाव नजित्ने खनाल–नेपाल समूहका मतदाताहरू (प्रदेशसभा सदस्य र गाउँ, नगरपालिकाका प्रमुखउपप्रमुख) बताउँछन् ।

छलफलमा उदासिन, इमेलमा निर्देशन

सोमबार नेकपा एमाले १३३ जना नै मतदातालाई इमेलमा निर्देशन पठाएको छ । पार्टी महासचिव ईश्वर पोखरेलले बादल नै पार्टीको उमेदवार भएकाले पीसीआर रिपोर्टसहित भोट हाल्न जाने निर्देशन पठाएका छन् ।

तर, खनाल–नेपाल समूहले इमेलको निर्देशन कामयावी नहुने भएको बताउँदै आएको छ । “चुरो कुरा एमालेभित्रको विवाद मिलाउने कुरा हो । एमालेभित्रको विवाद मिल्नेबित्तिकै ह्विप लगाउनै पर्दैन,” खनाल–नेपाल समूहका एक नेता भन्छन् ।

बादललाई जिताउने नै इच्छा भए उपचुनावअगावै पार्टी विवाद मिलाउनुपर्ने ती नेता थप्छन् । पार्टी विवाद मिलाउन कार्यदल गठन गरिए पनि त्यसले काम नथालेको र भोट हाल्ने दिन आइसकेकाले बादलले भोट पाउने सम्भावना टाढिँदै गएको उनको बुझाइ छ ।

“अहिलेसम्म पार्टीको के कुरा मिलेको छ र हामीले बादललाई भोट हाल्ने ? फेरि हाम्रो उमेदवार बादल पनि होइन,” उनी भन्छन्, “बाहिर पो भन्न भएन । डा. खिमलाल देवकोटा कहाँ कांग्रेस–एमालेको उमेदवार हो र ? हामीले उठाएको हो ।”

‘ओली–नेपालले संयुक्त निर्देशन जारी गर्नुपर्छ’

अहिलेसम्म झलनाथ खनाल र नेता माधवकुमार नेपालले कार्यकर्तालाई केही भनेका छैनन् । तर, उनीपक्षीय मतदाता कन्भिन्स छन् ।

“हामी केही भन्दैनौँ । हाम्रो उम्मेदवार हो होइन भन्दैनौँ । हामीलाई बादललाई भोट हाल्न कुनै बाध्यता छैन,” एक सदस्यले भने, “शान्त प्रक्रिया, स्वच्छ हिसाबले चलेको पार्टीको कुरा होइन । पार्टीको विवाद उत्कर्षमा पुगेर, दुईवटा पार्टीको जस्तो अलगअलग अभ्यास भएर, पार्टीलाई एकता गर्ने भनेर दुईवटा पार्टीजस्तो गरेर, कार्यदल बनाएर सुरु गरेको कुरा हो ।”

उनले केपी ओली र माधवकुमार नेपालले पार्टी निर्णयसहितको संयुक्त हस्ताक्षर आए बादलले भोट पाउने बताए ।

“केपी ओलीले जुन तहको पहलकदमी गरिरहेका छन्, राष्ट्रिय सभा निर्वाचनका लागि उनी आफैँले बादललाई धोका दिँदैछन् कि जस्तो भान हुँदैछ । एकदम महत्त्वका साथ भनेर उठाइएको छ । तर, पहलकदमीचाहिँ केही छैन,” उनी ठोकुवा गर्दै भन्छन्, “यसले के देखिँदैछ भने या त प्रधानमन्त्री ओलीले पार्टी एकताको यो प्रक्रियालाई छलछामको रूपमा लिँदैछन्, या त बादलमाथि ठूलो बेइमानी गर्दैछन्, नत्र भने चिट्ठी पठाएर भोट हाल्ने वातावरण बन्ने तहको मात्रै विवाद हो र ?”

प्रदेशसभा सदस्य रचना खड्काले पार्टीले संस्थागत ढङ्गले निर्णय गरे बादललाई भोट हाल्ने बताइन् । “पार्टीका दुवै नेताहरू बसेर एउटा निर्णयमा पुग्नुपर्‍यो । पार्टीको विवाद मिल्नुपर्‍यो,” उनले भनिन्, “संस्थागत निर्णय भए पार्टीले तोकेको उमेदवारलाई भोट हाल्न समस्या हुँदैन ।”

बाह्रखरीबाट 

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०

भर्खरैसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०