बादललाई नेपाल समूहले भोट नदिने, देवकोटालाई मतदान गर्न वक्तव्य

४ जेष्ठ २०७८, मंगलवार २१:२६ मा प्रकाशित

काठमाडौँ । बागमती प्रदेशमा हुने राष्ट्रिय सभा उपनिर्वाचनमा सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गृहमन्त्री रामबहादुर थापा बादललाई समर्थन नगर्ने बताएका छन् । उपनिर्वाचनमा बादललाई नेता नेपालले सहयोग गर्ने समाचार बाहिरिएपछि सचिवालयले खण्डन गर्दै बादललाई सहयोग नगर्ने बताएका हुन् ।

‘आज कमरेड राम बहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधव कुमार नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार बनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो’ नेता नेपालको स्वकिय सचिव मोहन गौतमले वक्तव्यमा लेखेका छन्  ‘त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ ।’

राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधि सुरु भइसकेको अवस्थामा आज बादलले नेता नेपालसँग भेटेर भोट मागेका थिए ।

प्रतिक्रिया दिनुहोस !