जनता समाजवादी पार्टीमा विवाद चरमोत्कर्षमा: दुवै पक्ष एक अर्कालाई स्पष्टीकरण सोध्दै

१२ जेष्ठ २०७८, बुधबार १२:१२ मा प्रकाशित

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद चरमोत्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने कि उनको अलोकतान्त्रिक कामको विरोध गर्ने भन्नेमा विवाद भएको छ ।

केपी ओलीको विकल्पको सरकार नबनोस बनेर महन्थ ठाकुर पक्ष संसदमा तटस्थ बस्यो । केपी ओलीको सरकार टिकाउन उसले निरन्तर सहयोगी भूमिका खेलिरहेको छ । केपी ओलीको सरकार टिकाउन सहयोग गरेका कारण उपेन्द्र यादवले महन्थ ठाकुरलाई स्पष्टीकरण सोधेका छन् र महन्थले पनि उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् ।

उपेन्द्रलाई सात बुँदे स्पष्टीकरण :

सात बुँदे स्पष्टीकरणमा लुम्बिनी प्रदेशका चार जना प्रदेशसभा सदस्यहरुलाई निष्काशन गर्नुको कारण, विपक्षी काँग्रेस र माओवादीसँग मिलेर सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको माग गर्दै रिट दायर गर्न जानुको कारणलगायत विषयमा प्रश्न सोधिएको छ ।

पार्टीको विधानको दफा ४९ अनुसार अनुशासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार सोधिएको स्पष्टीकरणको जवाफ तीन दिनभित्र पार्टी कार्यालयमा पठाउन समेत अध्यक्ष ठाकुरले भनेका छन् । नागरिकता विधेयक आएसँगै जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो सरकारमा सहभागी हुने तयारी गरिरहेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

उपेन्द्र यादवले महन्थलाई स्पष्टीकरणमा के छ :

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई स्पष्टीकरण सोध्दै पत्र पठाएका छन्।

ठाकुरलाई तीन दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन भनिएको छ। चित्तबुझ्दो जवाफ नआएमा कार्बाहीको चेतावनी दिएको छ।

नौ बुँदामा सोधिएको प्रष्टीकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमलाई पार्टी निर्णय र नीति विपरित किन साथ दिएको ?, पार्टीको कार्यकारिणी बैठकमा अनुपस्थित हुने तर आफ्ना समर्थकको बैठक बोलाएर गुटबन्दी गरेको आरोप ठाकुरलाई छ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा हुँदा हुँदै किन छुट्टै कार्यालय संचालन गरिएको ?, पार्टीको निर्णय विना निर्वाचन आयोग, राष्ट्रपति कार्यालयमा किन पत्र पठाइएको ? जेठ ३ गते जारी संयुक्त विज्ञप्तिको पालना नगरेकोमा पनि ठाकुरलाई प्रश्न सोधिएको छ।

पार्टी विधानको धारा २८ बमोजिम संसदीय दलको विधान नवनिसकेको अवस्थामा राजेन्द्र महतोलाई किन र के आधारमा संसदीय दलको नेता घोषणा गरी संघीय संसदलाई पत्र पठाएको ?,

पार्टीको आधिकारिक निर्णयविना सरकारसँग वार्ता गर्ने भन्दै लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई सरकारी कार्यदलसँग वार्ता गर्न पठाएकोबारे पनि यादवले ठाकुरसँग सोधेका छन् ।

यसैगरी राजेन्द्र महतोसँग ६ बुँदे, लक्ष्मणलाल कर्णसँग ५ बुँदे, सर्वेन्द्रनाथ शुक्लसँग ५ बुँदे स्पष्टीकरण सोधिएको छ।

प्रतिक्रिया दिनुहोस !