युभेन्टस, रियल मड्रिड र बार्सिलोनालाई तनाव: युइएफएले थाल्यो कारबाही

१२ जेष्ठ २०७८, बुधबार १२:३२ मा प्रकाशित

काठमाडौँ । युरोपियन फुटबलको सर्वोच्च संस्था युइएफएले युरोपका तीन ठूला कलबमाथि अनुशासनको डण्डा बजार्न सुरु गरेको छ । उसले इटालियन युभेन्टस र स्पेनका दुई ठूला क्लब रियल मड्रिड र बार्सिलोनामाथि औपचारिक रूपमै कारबाही प्रक्रिया अघि बढाएको हो । केही समयअघि घोषणा भएर तुहिएको विवादित ‘युरोपियन सुपर लिग’ फुटबलमा सहभागी भएको आरोपमा यी तीन क्लबमाथि युइएफएले अनुशासनको डण्डा बजारेको हो ।

दुई महिनाअघि युरोपका १२ वटा हेभिवट र धनी क्लबहरू मिलेर नयाँ फुटबल प्रतियोगिता ‘युरोपेली सुपर लिग’ घोषणा गरेका थिए । फिफा र युइएफएको कडा कारबाहीको चेतावनीपछि विभिन्न ९ क्लबले प्रतियोगिताबाट हात झिके पनि रियल, बार्सिलोना र युभेन्टस अझै पनि सो प्रतियोगितामा यथावतै रहेका छन् । यी तीन क्लबमाथि युइएफएले अफिसियल रूपमा कारबाही प्रक्रिया थालेको हो । मंगलबार युइएफएले यसको औपचारिक पुष्टि नै गरेको छ ।

युइएफएले यी तीन क्लबमाथि कस्तो कारबाही हुने भन्ने विषयमा थप बिस्तृतमा बताएको छैन । तर, उसले केही दिनमा यसबारे खुलाउने जनाएको छ । उसले कारबाही गर्नका लागि अनुसन्धान सुरु गरेको उल्लेख गरेको छ । इटालीको एक क्लब र स्पेनका दुई क्लबले अझै पनि सो प्रतियोगिता आयोजना गर्नुपर्ने र ढिलो–चाँडो हुने बताउँदै आएका छन् । साथै, उनहिरूले प्रतियोगिता आयोजना गर्न कानुनी लडाइँ समेत लड्ने बताएका छन् ।

सुपर लिग हालको च्याम्पियन्स लिगलाई प्रतिस्थापन गर्ने गरी ल्याएको भन्दै चर्को आलोचना भएको थियो । उतिबेला फिफा र यइएफएले सुपर लिगमा सहभागी हुने क्लबलाई च्याम्पियन्स लिग र ती क्लबका खेलाडीमाथि अन्तर्राष्ट्रिय फुटबलमा समेत प्रतिबन्ध लगाउने चेतावनी दिएपछि २ दिनको बीचमा ९ क्लबले प्रतियोगिताबाट हात झिकेका थिए । तर, युभेन्टस, रियल र बार्सिलोनाले अझै पनि सो प्रतियोतिगाबाट बाहिरिएको घोषणा गरेका छैनन् ।

रियल मड्रिडका अध्यक्ष सुपर लिगको अध्यक्ष तथा युभेन्टसका अध्यक्ष चैं उपाध्यक्ष रहेर प्रतियोगिता घोषणा गरेका थिए । युइएफएले यसअघि सुपर लिगबाट बाहिर नभए युभेन्टस, रियल र बार्सिलोनामाथि मोटो आर्थिक जरिमानासहित कम्तीमा एक र बढीमा दुई सिजनसम्म च्याम्पियन्स लिगमा प्रतिबन्ध लगाउने चेताववी दिएको थियो । यता, फिफाले पनि यी तीन क्लबका खेलाडीमाथि ६ महिनासम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने गरी कठोर कारबाही गर्न सक्ने चर्चा छ ।

प्रतिक्रिया दिनुहोस !