कोभिड खोप ल्याउन अबको १०-१५ दिनमा ‘ब्रेक-थ्रू’ हुन्छ : परराष्ट्रमन्त्री

१४ जेष्ठ २०७८, शुक्रबार १५:२० मा प्रकाशित

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोभिड-१९ विरुद्धको खोप ल्याउने विषयमा केही दिनमै महत्वपूर्ण निर्णय हुने बताएका छन्। उनले खोप भित्र्याउन चीन र अमेरिकासँग महत्वपूर्ण पहल भइरहेको समेत बताए।

मन्त्री ज्ञवालीले कोभिडविरुद्धको खोप ल्याउन यी दुई देशसँग कुटनीतिक पहलसँगै अरु विभिन्न किसिमबाट छलफल भइरहेको बताएका छन्।

स्वास्थ्य पत्रकार मञ्चले शुक्रबार कोभिड-१९ विरुद्धको खोपको विषयमा आयोजना गरेको भर्चुअल छलफलमा बोल्दै मन्त्री ज्ञवालीले अबको दश-पन्ध्र दिनभित्र खोपबारे ‘ब्रेक-थ्रू’ हुने बताए।

चीन, अमेरिका, रुस र बेलायतलाई खोपका लागि पत्राचार समेत गरिसकिएको उल्लेख गर्दै उनले यी चार राष्ट्रमध्ये चीन र अमेरिकासँग बढी पहल भइरहेको बताए।

मन्त्री ज्ञवालीले भने, ‘यी चार राष्ट्रलाई खोपका लागि हामीले पत्राचार गरिसकेका छौँ। तर, चीन र अमेरिकामा बढी केन्द्रित भएर काम गरिरहेका छौं। दुई चार दिन तलमाथि होला, तर खोपमा ब्रेक-थ्रू हुन्छ।’

चीनले हालसम्म ५० करोड जनसंख्यालाई खोप लगाएको र ९० देशलाई खोप उपलब्ध गराएको मन्त्री ज्ञवालीले बताए। चीनले यति धेरै जनसंख्यालाई खोप लगाएको छ। ९० देशलाई उपलब्ध गराएको छ। अमेरिकासँग पनि ६ करोड एष्ट्राजेन्का स्टकमा छ’, उनले भने, ‘चीन र अमेरिकाले खोप उपलब्ध गराउन सक्छन्। त्यही भएर हामीले चीन र अमेरिकालाई जोड दिइरहेका छौँ।’

प्रतिक्रिया दिनुहोस !