एमाले विवाद समाधान हुदै: २०७५ जेठ २ गतेको अवस्थामा फर्किन १० सदस्यीय कार्यदल गठन

३० बैशाख २०७८, बिहीबार १४:२२ मा प्रकाशित

काठमाडौं । २०५४ सालमा विभाजनको पीडा बेहोरेका एमाले पंक्तिहरूलाई आज अर्को कठिनतम् दिन थियो । पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह प्रधानमन्त्री केपी ओलीबाट ‘पेलान’को महसुस गर्दै राजीनामा खल्तीमा हालेर हिँडेकाले विभाजन टार्न सकिँदैन कि भन्ने चिन्ता पार्टी पंक्तिमा व्याप्त थियो । उनीहरूले खबरदारी पनि गरिरहेका थिए ।

तर, बिहीबार बिहानै शुभ सङ्केत देखा पर्‍यो । पार्टीका निवर्तमान उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णु पौडेल निलम्बन फुकुवाको सन्देश बोकेर बिहान पौने ९ बजे पार्टीका नेता माधवकुमार नेपाल भेट्न उनको निवास पुगे ।

त्यसको केही बेरमै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर भेट्ने प्रस्ताव राखेको नेता सुवास नेम्वाङ बताउँछन् । ओली–नेपाल संवादलगत्तै बसेको पार्टी स्थायी कमिटी बैठकले नेपालसहित भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेमाथिको निलम्बन फुकुवा गरेको थियो ।

नेम्वाङका अनुसार प्रधानमन्त्री ओलीले बालुवाटार नै भेट्न प्रस्ताव गरेका थिए । बालुवाटार नभेट्ने बाचा बाँधेका नेता नेपालकै आग्रहमा ओलीले तीन पटक बाहिर भेटिसकेकाले यसपटक बालुवाटार आउलान् भन्ने अपेक्षा रहेको नेम्वाङको भनाइ छ । तर, नेपालले पुनः इन्कार गरेपछि क्याप्टेन रामेश्वर थापाको घर तय भएको बालुवाटार स्रोत बताउँछ ।

“उहाँले बालुवाटार भेट्न मान्ने, पार्टी कार्यालय आउन पनि असहज हुने, त्यसैले रामेश्वर थापाको घर तय भएको हो,” बालुवाटार स्रोतले भन्यो ।

बूढानीलकण्ठ जाने मूलसडकअन्तर्गत गोल्फुटार र चपली जोड्ने घुम्तीबाट सय मिटरभित्र छ मिडिया मालिकसमेत रहेका रामेश्वर थापाको घर । त्यसो त राजनीतिक वृत्तमा उनको घर नवीन होइन । २०७२ सालको संविधान निर्माणका बेला पनि त्यो घरमा नेताहरूको संवाद भएको थियो ।

यसपटक पनि उनकै घरमा भएको छलफलले एमाले विवादमा ‘ट्विस्ट’ ल्याएको छ । फुटको मुखमा पुगिसकेको पार्टीलाई संवादमा फर्काउन सफल भएको नेताहरूले प्रतिक्रिया दिएका छन् ।

“उहाँहरूलाई राजीनामाको बाटोमा जानतिर रोक्न सफल भयौँ । राजीनामाको बाटोमा गएको भए बरबादै हुन्थ्यो,” एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ भन्छन्, “पार्टीभित्रको विवाद बसेर छलफल गर्ने र निकास दिने समझदारी भएको छ ।

कार्यदल बनाउने सहमत

 

चपली घुम्तीस्थित थापाको घरमा ओली र नेपालबीच दिउँसो २ बजेदेखि अपराह्न सवा चारबजेसम्म छलफल चलेको थियो ।

छलफलमा दुईवटा सहमति भएको नेता नेपालले सञ्चारकर्मीलाई जानकारी दिए । पार्टीमा अहिले जति पनि समस्या देखिएका छन्, खनाल, नेपाल समूहले जति पनि प्रश्न उठाइरहेको छ, तिनलाई साँघुर्‍याउने, समाधान गर्नका लागि एउटा कार्यदल बनाउने र खनाल–नेपाल समूहले दिन ठिक्क पारेको राजीनामा तत्काल स्थगित गर्ने सहमति भएको नेता नेपालको भनाइ छ ।
नेपालसँगको छलफलपछि ओलीले आफूनिकट नेताहरूलाई ब्रिफिङ गरेका छन् ।

विवाद समाधान गर्न एउटा कार्यदल बनाउने समझदारी भएको छ,” नेम्वाङले बाह्रखरीसँग भने, “उहाँहरूले दिने भनिएको राजीनामा तत्कालका लागि टरेको छ ।

कार्यदलको प्रस्ताव नवीन कुरा होइन । केही दिनअघि बालुवाटारमा ओली पक्षका अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका नेता सुवास नेम्वाङ, प्रमुख सल्लाहकार विष्णु रिमाल र नेपाल पक्षका घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टबीच छलफल हुँदा कार्यदल बनाउने प्रस्ताव आएको थियो । तर, त्यसले मूर्तता पाएन ।

ओली–नेपालको आजको छलफलमा पनि विष्णु पौडेलको नेतृत्वका कार्यदल बनाउने करिबकरिब टुंगो लागेको नेम्वाङले बताए । कति सदस्यीय कार्यदल बनाउने भन्ने चाहिँ टुंगिन बाँकी रहेको उनको भनाइ छ । “५, ७ कि १० सदस्यीय भन्ने छ, सम्भवतः छिट्टै टुंगो लाग्छ,” उनले भने ।

योसँगै गठबन्धन सरकार बन्ने सम्भावना सकिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्रले पनि गठबन्धन सरकार बन्ने सम्भावना सकिएको निष्कर्ष निकालेका छन् । जसपा विभाजित हुँदा र एमाले एकताबद्ध हुँदा गठबन्धन सरकार बन्ने सम्भावना स्वतः समाप्त भएको उनीहरूको साझा निचोड पनि छ ।

अब धारा ७६ (३)को ठूलो दलको सरकार बन्ने बाटो खुलेको नेम्वाङ बताउँछन् । गठबन्धन सरकारका लागि राष्ट्रपतिले आह्वान गरेको समयसीमा आजै राति ९ बजे सकिँदैछ । त्यसलगत्तै ७६ (३) को सरकार बन्ने प्रक्रिया सुरु हुने उनी बताउँछन् । “राति ९ बजेपछि नै अर्को उपधारा ३ अनुसार सरकार बनाउने प्रक्रिया सुरु हुन्छ । राष्ट्रपतिले जुनसुकै बेला आह्वान गर्न सक्नुहुन्छ,” उनी भन्छन् ।

स्रोतका अनुसार खनाल–नेपाल समूह राजीनामाबाट तत्कालका लागि फिर्ता भएकाले प्रधानमन्त्री ओलीले आजै धारा ७६ को उपधारा ३ को सरकारका लागि शपथको तयारी गरेका छन् । राति ९ बजे पछि नै शपथ हुन सक्ने या भोलि बिहान पनि तय हुन सक्ने एमाले नेताको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !