फेरि नयाँ उचाइ पछ्याउँदै नेप्से : ११ अर्ब माथिको कारोबार, पुनर्बिमामा झुमिदै लगानीकर्ता

१९ जेष्ठ २०७८, बुधबार १६:३० मा प्रकाशित

१३ कम्पनीको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा हयिाली छाउँदा नेप्से नयाँ उचाइ नजिक पुगेको छ । आइतबार २८२७.९३ अंकको ऐतिहासिक उचाइमा पुगेको नेप्सेमा सोमबार र मंगलबार लगातार दुई दिन गिरावट भएको थियो ।

तर आज साताको चौथो कारोबार दिन भने नेप्से ५५.७६ अंकले बढेर २८२७.१३ अंकमा बन्द भएको छ ।

शनिबार आएको बजेटले १ वर्षभन्दा कम अवधि सेयर होल्ड गरेर बेच्ने लगानीकर्तालाई लाभकर बढाएर ७.५ प्रतिशत पुर्‍याएपछि पनि आइतबार ऐतिहासिक १७ अर्बको कारोबार भएको थियो । भने सोमबार पनि नेप्सेमा ३ करोड ८ लाख ८८ हजार ६९५ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ९० करोड ९१ लाख १३ हजारको कारोबार भएको थियो ।
तर मंगलबार भने कारोबार रकम घटेर १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५९ करोड ८१ लाख ६० हजारको कारोबार भएको थियो । तर आज भने कारोबार रकम पुन उकालो लागेको छ । आज नेप्सेमा २ करोड २६ लाख १३ हजार २९ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ३५ करोड १८ लाख १५ हजारको कारोबार भएको छ ।

नेप्से सँगै ‘क’ वर्गका कम्पनीको मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि बढेको छ । सेन्सिटिभ इन्डेक्स ७.८३ अंकले घटेर ५०५.१५ अंकमा बन्द भएको छ ।

आज नेप्से म्युचुअल फन्ड बाहेक सबै उपसूचकमा हरियाली छाएको छ । विकास बैंक, वित्त कम्पनी र अन्य उपसूचकले बजारलाई उचालेको छ । विकास बैंक उपसूचक ६.१३ प्रतिशत, वित्त कम्पनी ७.९१ प्रतिशत र अन्य उपसूचक ५.२४ प्रतिशले बढेको छ ।

यस्तै निर्जीवन बिमा उपसूचक ३.३४ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक २.६९ प्रतिशत, उत्पादनमुलक उपसूचक २.३९ प्रतिशत, हाइड्रोपावर उपसूचक २.८६ प्रतिशत र जस्वन बिमा उपसूचक पनि २.०८ प्रतिशतले बढेको छ । यता लघुवित्त उपसूचक १.३ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.४८ प्रतिशतले बढेको छ ।

म्युचुअल फन्ड उपसूचक भने ०.१२ प्रतिशतले घटेको छ ।

आज बजारमा कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीले लिड गरेको छ । कम्पनीको मात्रै १ अर्ब ३७ करोड ८७ लाख ९१ हजारको कारोबार हुँदा निर्धन उत्थान लघुवित्तको ३३ करोड ४५ लाख ८५ हजार र सानिमा माइ हाइड्रोपावरको ३२ करोड १९ लाख ६३ हजारको कारोबार भएको छ । यस्तै लुम्बिनि विकास बैंकको २९ करोड ७९ लाख ४० हजार र ज्योति विकास बैंकको २३ करोड १ लाख २३ हजारको कारोबार भएको छ ।

आज कारोबारमा आएको मध्ये १३ कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा भएको छ । सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुनेमा लुम्बिनी विकास बैंक नेपाल पुनर्बिमा कम्पनी, राष्ट्रि बिमा कम्पनी २ जलविद्युत कम्पनीसहित ८ फाइनान्स कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको हो ।

यता सेयर मूल्य घटेमा भने राधि जलविद्युत कम्पनी अगाडि देखिएको छ । कम्पनीको सेयर मूल्य ७.२३ प्रतिशतले घट्दा विशाल बजार कम्पनीको सेयर मूल्य १.६७ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएकामध्ये १६२ कम्पनीको सेयर मूल्यमा बढेको भएको छ । त्यस्तै १५ कम्पनीको सेयर मूल्य घट्दा ५ कम्पनीको भने स्थिर रह्यो ।

प्रतिक्रिया दिनुहोस !