इक्वेडरमाथि ब्राजिलको सहज जित

२२ जेष्ठ २०७८, शनिबार १०:११ मा प्रकाशित

काठमाडौं । विश्वकप क्वालिफायर्सको दक्षिण अमेरिकी छनोट अन्तर्गतको खेलमा ब्राजिलले इक्वेडरमाथि जित निकालेको छ। आज बिहान सम्पन्न खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिलले इक्वेडरमाथि २-० को जित निकाल्यो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६५ औं मिनेटमा रिचार्लिसनले ब्राजिललाई अग्रता दिलाएका थिए। त्यस्तै खेलको इन्ज्युरी टाइममा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै नेइमार जुनियरले गोल थप्दा ब्राजिलले २-० को सहज जित निकालेको हो।

जितसँगै ब्राजिल ५ खेल खेलेर शतप्रतिशत जित निकाल्दै १५ अंक जोडेर शीर्षस्थानमा कायम छ भने समान खेल खेलेर ९ अंक जोडेको इक्वेडर तेस्रो स्थानमा छ। दोस्रो स्थानमा भने ११ अंक जोडेको अर्जेन्टिना रहेको छ।

प्रतिक्रिया दिनुहोस !