अदालतको फैसला पछि नयाँ पार्टी गठन गर्ने वा नगर्ने निर्णय गर्छौ: खनाल–नेपाल समूह

२२ जेष्ठ २०७८, शनिबार १९:४४ मा प्रकाशित

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का असन्तुष्ट समूह (खनाल–नेपाल पक्ष)ले नयाँ पार्टी गठन गर्न अदालतको फैसला कुर्ने भएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेकाले नयाँ आन्दोलन विकास गर्न अहिले नै हतारिन नहुने निष्कर्षमा पुगिएको एक नेताले बताए ।

“यसबीचमा हामीले एकता प्रयास पनि जारी राख्यौँ । तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनको रवैया जारी राख्नुभयो । कार्यदल बनेर छलफलको प्रारम्भ हुँदा नहुँदै संसद् विघटनतिर जानुभयो,” स्थायी कमिटीको निष्कर्ष सुनाउँदै एक स्थायी कमिटी सदस्यले भने, “ओलीका क्रियाकलाप पार्टी विरोधी, एकता विरोधी, जनविरोधी छन् । उनले आफ्ना त्रुटि, प्रतिगमनकारी क्रियाकलाप नसच्याइ उनीसँग सार्थक वार्ता सम्भव छैन । तर, हामी अहिले नै पार्टी दर्ता गरिहाल्ने अवस्थामा पनि छैनौँ ।”

अदालतमा मुद्दा विचाराधीन रहेकाले र एमालेको सांसदको हैसियतले विषय अदालतमा पुगेकाले अहिलै पार्टी खोल्ने निष्कर्षमा नपुगिएको एक स्थायी कमिटी सदस्य बताउँछन् । “तर, हामी आन्तरिक तयारी जारी राख्छौँ । वार्ता, संवादमा रहेका साथीहरूले एकताको प्रयास पनि गर्नुहुन्छ । एकता भए राम्रै कुरा पनि हो तर, ओलीजीले गल्ती नसच्याइ एकता पनि हुँदैन ।”

त्यस्तै आजको बैठकले उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले शपथ खाँदै वकालत गरेको बहुराष्ट्रिय राज्यको भ्रर्त्सना गरेको छ । यसलाई तुरुन्तै फिर्ता लिन पनि बैठकले माग गरेको ती सदस्य बताउँछन् । त्यस्तै सरकारले बजेटमा ढुङ्गा, गिटी, बालुवा आदि सामग्री निर्यात गरेर व्यापारघाटा कटौती गर्ने सरकारको नीतिको पनि राष्ट्रघाट ठहर गर्दै भर्त्सना गरेको छ । र, यथाशीघ्र फिर्ता लिन पनि आग्रह गरेको एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस !