पुनर्गठन भयो संवैधानिक इजलास, वरिष्ठताको आधारमा न्यायाधीश तोकिए

२३ जेष्ठ २०७८, आईतवार १०:५३ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलास पुनर्गठन गरिएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास पुनर्गठन गरिएको हो ।

संवैधानिक इजलासमा अब प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहनेछन् ।

प्रतिनिधिसभा विघटनको मुद्दामा आज सुनुवाइ हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ ८ गते मध्यरातमा राष्ट्रपति विद्या भण्डारीले संसद् विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा ३० वटा रिट परेका छन् ।

ती रिटमा गत १३ गतेदेखि सुरु भएको प्रारम्भिक सुनुवाइ मंगलबारदेखि स्थगित छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलासमा राखेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठका विषयमा विपक्षका तर्फबाट पूर्वमहान्यायाधिवक्तासहित वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि विवाद सुरु भएको थियो ।

त्यो विवादमा न्यायाधीशद्वय केसी र श्रेष्ठले इजलास नछोड्ने निर्णय लिएपछि संवैधानिक इजलासबाट वरिष्ठतम न्यायाधीश दीपककुमार श्रेष्ठ र न्यायाधीश डा. आनन्दमोहन भट्टराईले इजलास छोड्ने निर्णय लिएका थिए । सोही कारण इजलास पुनर्गठन गर्नुपरेको हो ।

प्रतिक्रिया दिनुहोस !