तीन हजार अंक पार गरेको नेप्से दोहोरो अंकले घटेर बन्द भयो, १७ अर्बको कारोबार

२६ जेष्ठ २०७८, बुधबार १७:२० मा प्रकाशित

काठमाडौं । एकपछि अर्को नयाँ रकेर्ड बनाउँदै गएको सेयर साताको चौथो कारोबार दिन बुधबार दोहोरो अंकको करेक्सन भएको छ । मंगलबार २०६०.१५ अंकको ऐतिहासिक उचाइमा बन्द भएको नेप्से आज १३.५६ अंकले करेक्सन भएर २९४६.५८ अंकमा बन्द भएको छ ।

प्रि–ओपन सेसनमा नै करिब ३५ अंकले बढेर २९९५.०८ अंकमा खुलेको नेप्सेले ‘इन्ट्रा–डे’ कारोबारमा ३००० अंकको बिन्दु पार गरेर फर्किको छ । आज नेप्सेले ३००५.९० अंकको ऐतिहासिक बिन्दुमा पुगेको थियो भने २९३३.६२ अंकसम्म झरेको थियो ।

सुरुआत देखिनै तीव्र उताचरचढाव देखिएको बजारमार आज विशेष गरेर वित्त कम्पनीको सेयर मूल्यमा उच्च उतारचढाव देखियो । सुरुआती १ घण्टामा नै ६ अर्बको कारोबार भको बजारमा जम्मा १७ अर्बको कारोबार भएको छ ।

३ करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ९९ करोड ७० लाख ९३ हजारको कारोबार भएको छ । २.०४ प्रतिशतले वृद्धि भएर २,३६७ अंकमा बन्द भएको वित्त कम्पनी उपसूचकमा आज ९ प्रतिशत माथिले उतारचढाव भएको छ ।

आज नेप्सेमा विकास बैंक उपसूचकमा सर्वाधिक ४.४१ अंक र बजारलाईं लिड गर्ने बैंकिङ उपसूचकमा ०.५८ अंकको करेक्सन हुँदा अधिकाम्स उपसूचक बढे पनि बजार परिसूचक नेप्सेमा भने करेक्सन भएको छ । वित्त कम्पनी उपसूचक २.०४ प्रतिशतले विस्तार हुँदा उत्पादनमुलक उपसूचक ३.९८ प्रतिशत र व्यापार उपसूचक १ प्रतिशतले बढेको छ ।

बजारमा १७ अर्बको कारोबार हुँदा अरुण भ्याली हाइड्रोपावरले कारोबार रकममा लिड गरेको छ । कम्पनीको ७ करोड ९४ लाख ९० हजारको कारोबार भएको छ । त्यस्तै नेपाल पुनर्बिमा कम्पनीको ६१ करोड ८० लाख ३ हजार, नेपाल इन्स्योरेन्सको ५१ करोड ६ लाख ७१ हजार र लुम्बिनी विकास बैंकको ४८ करोड २८ लाख ९८ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स तथा नेप्सेमा सूचिकृत भएर आजबाट कारोबार खुलेको सीईडीबी हाइड्रोपावरसहित ८ कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथिले बढेर सर्किट लेभलमा बन्द भएको छ । सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुने अन्य कम्पनीमा युनाइटेड मोदी हाइड्रोपावर, रिडी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर र पोखरा फाइनान्स छन् ।

यता, युनाइटेड इदी मार्दी हाइड्रोपावरको सेयर मूल्य घटेर सर्किट लेभलमा नै बन्द भएको छ । त्यसबाहेक सेयर मूल्य घट्नेमा विकास बैंक अगाडि देखिन्छन् ।

महालक्ष्मी विकास बैंकको सेयर मूल्य ६.३७ र साइन रेसुङगा डेभलमेन्ट बैंकको सेयर मूल्य ६.१५ प्रतिशतले घटेको छ । त्यस्तै मितेरी डेभलमेन्ट बैंकको ५.९७ प्रतिशत र गरिमा विकास बैंकको सेयर मूल्य ५.६३ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका मध्ये ११६ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ६० कम्पनीको भने बढेको छ । यस्तै ५ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

प्रतिक्रिया दिनुहोस !