आज गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने

२७ जेष्ठ २०७८, बिहीबार १०:३५ मा प्रकाशित

काठमाडौं । गण्डकी प्रदेश सभा बैठकमा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदैछन् । दिउँसो १२ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

गण्डकी प्रदेशमा कुल ६० जना प्रदेश सभा सदस्य रहेका छन् । त्यसमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न ३१ जना सांसदको समर्थन चाहिन्छ । जसमा एमालेका २७ सांसद छन् भने काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्यि जनमोर्चाका ३ सांसद सांसद छन् ।

मुख्यमन्त्रीको पक्षमा रहेर मन्त्री समेत बनिसकेका स्वतन्त्र सांसद दीपक मनाङेले बुधबार विपक्षी गठबन्धनलाई साथ दिने प्रष्ट संकेत गरेका छन् ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिएका थिए । संवैधानिक व्यवस्था अनुसार उनले जेठ २९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसैको लागि उनले २५ जेठमा विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस !