युरोकप फुटबलमा इङ्ल्यान्डको सुखद सुरुवात गर्दा अष्ट्रियाको ऐतिहासिक जित

३१ जेष्ठ २०७८, सोमबार ००:४५ मा प्रकाशित

काठमाडौं । इङ्ल्यान्डले युरोकप फुटबल २०२० अन्तर्गत पहिलो खेलमा जित निकालेको छ । आइतबार भएको खेलमा इङ्ल्यान्डले क्रोएसियामाथि १–० गोलको जित निकालेको हो ।

लण्डनमा भएको खेलमा इङ्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रलिङले निर्णायक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको इङ्ल्यान्डका लागि स्ट्रलिङले खेलको ५७ औँ मिनेटमा गोल गर्दै टिमलाई जित दिलाएका हुन् ।

जितसँगै समूह ‘डी’मा रहेको इङ्ल्यान्डले महत्वपूर्ण ३ अंक जोडेको छ । यता क्रोएसियाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

यता १६ औँ संस्करणको युरोकप फुटबलमा अष्ट्रियाले ऐतिहासिक जित निकालेको छ । रोमानियाको बुचारिस्टमा अष्ट्रियाले आइतबार राति नर्थ म्यासेडोनियालाई ३-१ गोल अन्तरले पराजित गर्दै सुखद् सुरुवात गरेको हो ।

अष्ट्रियालाई जित दिलाउन स्टेफान लेनर, माइकल ग्रेगोरिट्स र मार्को आर्नोटोभिकले एक-एक गोल गरे । सेडोनियाका गोरान पाण्डेभले एक गोल फर्काए ।

यस जितसँगै समूह ‘सी’ को अष्ट्रियाले महत्वपूर्ण ३ अंक जोडेको छ । अष्ट्रिया समूहको शीर्ष स्थानमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस !