युरोकप : नेदरल्याण्ड्सको रोमाञ्चक जित

३१ जेष्ठ २०७८, सोमबार १३:०१ मा प्रकाशित

एजेन्सी । नेदरल्यान्ड्सले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा युक्रेनलाई ३-२ गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले सुखद सुरुवात गरेको हो ।

आम्स्टरडामस्थित जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विनाल्डम, वाउट वेगहोर्स्ट र डेन्जल डम्फ्राइजले एक एक गोल गरे ।युक्रेनका एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले सुरुवाती अग्रता बनाएको थियो ।

खेलको ५२ औं मिनेटमा कप्तान विनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा वेगहोर्स्टले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को अग्रता दिलाए ।

दुई गोलले पछि परेपनि युक्रेनले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ७५ औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । खेलको ७९ औं मिनेटमा युक्रेनका रोमनले गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो । तर, खेलको ८५ औं मिनेटमा डम्फ्राइजले गोल गर्दै नेदरल्यान्ड्सलाई ३-२ को जित दिलाए ।

उनको यो पहिलो अन्तराष्ट्रिय गोल समेत हो । यस जितसँगै समूह ‘सी’ को नेदरल्यान्ड्सले महत्वपूर्ण ३ अंक जोडेको छ । नेदरल्यान्ड्स समूहको दोस्रो स्थानमा रहेको छ । ३ अंक जोडेको अष्ट्रिया शीर्ष स्थानमा रहेको छ ।

युक्रेनले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । युक्रेन तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस !