नेपाललाई खोप सहयोग गर्न विश्व समुदायसँग एम्नेस्टीको आग्रह

३१ जेष्ठ २०७८, सोमबार १५:४७ मा प्रकाशित

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले नेपाललाई कोभिड-१९ विरुद्धको खोप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ।

संयुक्त राष्ट्रसंघले वैशाख ३१ गते जारी गरेको एक प्रतिवेदन अनुसार विश्वका अन्य देशमा भन्दा नेपालमा भाइरसको सबैभन्दा उच्च ’प्रभावकारी प्रजनन दर’  र सबैभन्दा उच्च संक्रमण दर रहेको एम्नेस्टीले जनाएको छ।

हालको संकट उत्परिवर्तित भाइरसको कारण थप गम्भीर हुन पुगेकाले मृत्यु दरलाई उच्च स्तरमा पुर्‍याउने तथा निमोनिया जस्ता थप जटिलताहरू पैदा गराउने गरेको एम्नेस्टीको विज्ञप्तिमा उल्लेख छ।

जसका कारण अक्सिजनको मागमा वृद्धि भइरहेको र स्वास्थ्य प्रणालीको बोझ कम गर्न र भाइरसको सक्रमणलाई नियन्त्रण गर्न नेपालद्वारा भएका प्रयासहहरूलाई कोभिड–१९ विरुद्धको खोपको अभावले गम्भीर रूपमा अवरोध पुर्‍याएको एम्नेस्टीले जनाएको छ।

‘हामीले एक महिनाअघि भारतमा जुनखालको हतास अवस्था देखेका थियौँ त्यस्तै अवस्था अहिले नेपालमा पनि देखिरहेका छौँ’ विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालहरूमा क्षमता भन्दा बढी बिरामीको चापका कारण देशको स्वास्थ्य सेवा प्रणाली लड्खडाइरहेको छ र अत्यधिक कामको बोझमा रहेका र निराश लाग्दो तहको न्यून श्रोत साधनमा रहेर खटिरहेका स्वास्थ्य कर्मचारीहरूले अत्यासलाग्दो तहको आफ्नो मागलाई पूरा गर्न सकिरहेका छैन।’ एम्नेस्टी  इन्टरनेसनलकी एसिया प्यासिफिक निर्देशक यमिनी  मिश्रले नेपालमा खोपको आवश्यकता भएकाले विश्व समुदायले सहयोग गर्न आग्रह गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस !