प्रधानमन्त्रीका प्रश्नैप्रश्न– देउवाको माग पूरा भए एमाले र जसपा सत्तापक्ष हुन्छन् कि प्रतिपक्ष ?

३ असार २०७८, बिहीबार १६:२८ मा प्रकाशित

काठमाडौं । प्रधनमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा जवाफ लेख्दै अदालतलाई नै प्रश्न सोधेका छन् । संविधानको धारा ७६(५) अनुसार सरकार गठन हुने हो भने संसद्मा सत्तापक्ष र प्रतिपक्षको व्यवस्थानलाई लिएर पनि उनले प्रश्न उठाएका छन् ।

“विपक्षीको माग पूरा भयो भने एमाले सत्तापक्ष हुने वा प्रमुख प्रतिपक्षी दल हुने ?,” ओलीले प्रश्न गरेका छन्, “नेपालको संविधानले प्रमुख प्रतिपक्षलाई शासन सञ्चालनमा अनिवार्य गरेको छ र प्रमुख विपक्षी दलको नेतालाई विभिन्न संवैधानिक भूमिका प्रदान गरिएको छ । कथंंकदाचित रिट निवेदकहरूले माग गरेबमोजिम श्री शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो भने रिट निवेदकमध्येका नेकपा (एमाले) र जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य कुन दलको हुनुहुन्छ ?”

उनले आफूले नेतृत्व गरेको नेकपा (एमाले) सत्तापक्ष हुन्छ कि प्रतिपक्ष ? भनेर पनि प्रश्न उठाएका हुन् । “किनभने, श्री शेरबहादुर देउवा त नेकपा (एमाले)कै प्रतिनिधिसभा सदस्यको समर्थनमा प्रधानमन्त्री बनेको अवस्था हुनेछ । एउटै दल सत्तापक्ष र प्रतिपक्ष दुवै हुन सक्दैन,” ओलीले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस !