युक्रेनले नर्थ म्यासेडोनियालाई हरायो

४ असार २०७८, शुक्रबार ०१:५८ मा प्रकाशित

काठमाडौं ।कप्तान एन्ड्रिय यार्माेलेन्कोले एक गोल र अर्काे गोलको लागि असिस्ट दिएपछि युक्रेनले युरोपेली च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ । युक्रेनले पहिलोपटक युरो खेलिरहेको नर्थ म्यासेडोनियालाई २–१ ले पराजित गरेको हो ।

यो जितसँगै युक्रेनले समूह चरण पार गर्ने सम्भावना जीवितै राख्दा लगातार दोस्रो हार बेहोरेको नर्थ म्यासेडोनियाको समूह चरण पार गर्ने सम्भावना झिनो बनेको छ । युक्रेन पहिलो खेलमा नेदरल्यान्ड्ससँग ३–२ ले पराजित भएको थियो भने नर्थ म्यासेडोनियाले अष्ट्रियासँग ३–१ को हार बेहोरेको थियो । रोमानियास्थित एरिना नेसनल बुखारेस्टमा बिहीबार भएको खेलमा युक्रेनको जितमा यार्माेलेन्को र रोमन यारेमचुकले गोल गर्दा नर्थ म्यासेडोनियाका इज्ग्जान एलिओस्कीले एक गोल फर्काए ।

खेलको नवौं मिनेटमा रुस्लान मालिनोभ्स्कीको प्रहारलाई नर्थ म्यासेडोनियाका गोलरक्षक स्टोल डिमिट्रिभ्स्कीले बचाउदा युक्रेन अग्रता लिनबाट चुक्यो । लगत्तै मालिनोभ्स्कीको पासमा एन्ड्रिय यार्माेलेन्कोको प्रहारमा गोलरक्षक स्टोल नै बाधक बने । १७औं मिनेटमा इल्जिफ इल्मासले गोल गर्न अवसर खेर फाले । २४औं मिनेटमा यार्माेलेन्कोको प्रहारलाई गोलरक्षक डिमिट्रिभ्स्कीले उत्कृष्ट बचाउ गर्दै म्यासेडोनियाको खतरा टारे ।

२९औं मिनेटमा कप्तान यार्माेलेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाए । एलेक्सान्डर काराभाइवको पासमा उनले सहजै फिनिस गरेका थिए । ३४औं मिनेटमा यार्माेलेन्कोले पासमा रोमन यारेमचुकले अफसाइड बिट ट्रयापमा गोल गर्दै युक्रेनको अग्रता दोब्बर पारे । ३९औं मिनेटमा कप्तान गोरान पाण्डभले गोल गरेपनि उनी अफसाइड ठहरिदा म्यासेडोनियाले गोल अन्तर घटाउन सकेन ।

४७औं मिनेटमा एरिजान एडेमीको प्रहारमा गोलरक्षक जर्ज बुस्चानले डाइभ दिदै क्लियर गर्दा म्यासेडोनिया निराश बन्यो । ५१औं मिनेटमा रुस्लान मालिनोभ्स्कीको फ्रिकिकलाई डिमिट्रिभ्स्कीले डाइभ दिँदै बचाए । ५७औं मिनेटमा इज्ग्जान एलिओस्कीले गोल गर्दै म्यासेडोनियालाई खेलमा फर्काउने संकेत दिए ।

एलेक्सान्डर ट्राजकोभ्स्कीको प्रहार क्रसबारमा लागेर फर्केपछि रिवाउन्डमा कप्तान गोरान पाण्डभले प्रहार गर्न खोजेका थिए । त्यसक्रममा काराइभले फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै म्यासेडोनियालाई पेनाल्टी प्रदान गरे । इज्ग्जान एलिओस्कीको पेनाल्टीलाई गोलरक्षक जर्ज बुस्चाले बचाएपनि रिवाउन्डमा एलिओस्कीनै गोल गर्न सफल भए ।

६६औं मिनेटमा मालिनोभ्स्कीको प्रहारलाई डिमिट्रिभ्स्कीले बचाए । ८४औं मिनेटमा युक्रेनले पेनाल्टी पाएपनि सदुपयोग गर्न सकेन । मालिनोभ्स्कीको फ्रिकिकलाई पेनाल्टी बक्समा स्टेफन रिस्टोभ्स्कीले ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहयता लिदै युक्रेनलाई पेनाल्टी प्रदान गर्दा मालिनोभ्स्कीको प्रहारलाई गोलरक्षक डिमिट्रिभ्स्कीले बचाए ।

यो जितपछि समूह ‘सी’ मा युक्रेनले दुई खेलबाट ३ अंक जोडेको छ । अंकविहीन म्यासेडोनिया पुछारमा रहेको छ । नेदरल्यान्ड्स र अष्ट्रियाको पनि समान ३ अंक छ । यि दुई टोलीले आज राति नै प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस !