काठमाडौं उपत्यकामा एक साता थपियो निषेधाज्ञा

६ असार २०७८, आईतवार १७:५७ मा प्रकाशित

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।  तर यसपटक निजी सवारी साधन पनि जोर नम्बर प्लेटको जोर बार र विजोर नम्बर प्लेटो विजोर बार चल्न दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

असार ७ गतेदेखि निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्न पाउनेछ ।  तर अरु सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन ।

प्रशासनले व्यवसाय सञ्चालन गर्न दिने गरी निषेधाज्ञा थपेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब बारका आधारमा व्यवसाय सञ्चालन गर्न पाइनेछ ।

उनका अनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय,  घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् । त्यस्तै, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ ।

सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।

बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ पराजुलीले बताए । खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस !