कोपा अमेरिका: अर्जेन्टिना र चिली क्वाटरफाइनलमा

८ असार २०७८, मंगलवार १०:०४ मा प्रकाशित

काठमाडौं । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिलीले आ-आफ्नो खेलमा जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार बिहान भएको खेलमा पाराग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले दोस्रो जित निकालेको हो । यस जितसँगै अर्जेन्टिना प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । अर्जेन्टिनालाई जित दिलाउन एलेजेन्ड्रो गोमेजले निर्णायक गोल गरे ।

उनले खेलको दशौँ मिनेटमा गोल गरेका हुन् । एन्जल डी मारियाको पासमा उनले निर्णायक गोल गरे । यस जितसँगै समूह ‘ए’ को अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोडेको छ । अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ ।

यस्तै हिजो अर्को खेलमा उरुग्वेसँग १-१ गोलको बराबरीमा रोकिए पनि चिलीले क्वाटरफाइनलको यात्रा तय गरेको हो । एरिना पन्टानलमा अर्टुरो भिडालले आत्मघाती गोल गरेपछि चिली बराबरीमा रोकिएको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको २६ औं मिनेटमा एडुवार्डो भर्गासले गोल गर्दै चिलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ६६ औं मिनेटमा भिडालले आत्मघाती गोल गरेपछि उरुग्वे हारबाट जोगिएको हो ।

समुह ‘ए’ को अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोडेको छ । अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ । यसै समूहको अर्को खेलमा चिली र उरुग्वेले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । चिली ३ खेलमा ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पाराग्वेले २ खेलमा ३ अंक जोडेको छ । पाराग्वे तेस्रो स्थानमा रहेको छ । उरुग्वे २ खेलमा १ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस !