आइतबार देखि आन्तरिक उडान हुने, सबै श्रम गन्तव्य मुलुक पनि खुला

८ असार २०७८, मंगलवार २१:४१ मा प्रकाशित

काठमाडौँ । सरकारले आन्तरिक हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको प्रस्तावमा सशर्त आन्तरिक उडान खुल्ने निर्णय गरेको हो ।

५० प्रतिशत क्षमतामा मात्रै उडान गर्न पाउने व्यवस्था गरिएको मन्त्रिपरिषद् बैठकको निर्णयमा उल्लेख छ ।

मन्त्रिपरिषद्को निर्णयमा लेखिएको छ ‘जनस्वास्थ्य मापदण्ड पूर्ण पालना गरी अर्को आदेश जारी नभएसम्मका लागि कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान गर्ने व्यवस्था संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिलाउने ।’

त्यस्तै जनस्वास्थ्यको मापदण्ड अपनाएर अन्तरराष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरेको छ । काठमाडौँदेखि दोहा नेपाली वायुसेवाको दुई र कतारको वायुसेवा गरी सातामा चार उडान उल्लेख छ ।

त्यस्तैकाठमाडौँ -टर्की सातामा दुई उडान, काठमाडौ-युएई सातामा चार उडान, काठमाडौँ-दमाम सातामा नेपाली वायुसेवाको दुई उडान, काठमाडौँ-कुवेत सिटीबाट कुवेत वायुसेवाको दुई उडान, काठमाडौँ-ओमन सातामा एक उडान हुने ओमन वायुसेवाबाट एक उडान गर्ने निर्णय भएको छ ।

काठमाडौँदेखि मलेसिया सातामा चार वटा उडान हुने छ । काठमाडौँ दक्षिण कोरिया सातामा एक उडान हुनेछ । काठमाडौँ जापान सातामा नेपाली वायुसेवा कम्पनीबाट एक उडान हुनेछ । काठमाडौँ चीन सातामा चार वटा उडान हुने सरकारले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस !