संवैधानिक इजलासमा रिट निवेदक पक्षका कानून व्यवसायीहरुको बहस आज सकिदै

११ असार २०७८, शुक्रबार १२:२५ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा रिट निवेदको पक्षबाट कानून व्यवसायीहरुको बहस सकिदै छ । रिट निवेदक पक्षले शुरुवाती बहस गर्ने आज अन्तिम दिन हो ।

आज रिट निवेदकको तर्फबाट २३ जना कानून व्यवसायीहरुलाई बहसका लागि ३ देखि ३० मिनेटसम्मको समय निर्धारण गरिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा बुधवारदेखि बहस सुरू भएको थियो।

रिट निवेदकका तर्फबाट आज अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी, सतिषकृष्ण खरेल, सुनिल पोखरेल, दिनमणि पोखरेल, टिकाराम भट्टराई, भिमार्जुन आचार्य, ओमप्रकाश अर्याल र अधिवक्ता सविता भण्डारी सहित २३ जनाले बहस गर्ने अधिवक्ता सुनिल पोखरेलले बताएका छन् ।
संवैधानिक इजलासले निर्धारण गरिएको सुरुवाती बहसको १२ घण्टा मध्ये अब जम्मा ४ घण्टा समय बाँकी रहेको छ । ३ घण्टा जवाफी बहसका लागि निर्धारण गरिएको छ ।

आइतबार देखि सरकारको तर्फबाट महान्यायधीवक्ताको कार्यलयका कानून व्यवसायीहरुले बहस गर्ने गर्ने छन् । सरकार पक्षका वकिलहरुलाई पनि १५ घण्टाको समय निर्धारण गरिएको छ । त्यसपछि सर्वोच्चको सहयोगीका रुपमा रहेका एमिकसक्युरीका कानून व्यवसायीले बहस गर्ने छन् ।

उनीहरुका लागि २ घण्टाको समय निर्धारण गरिएको छ । एमिकसक्युरीका वकिलको बहस सकिएपछि संसद विघटन खारेज गर्ने वा सदर गर्ने बारे सर्वोच्चले फैसला गर्ने छ ।

प्रतिक्रिया दिनुहोस !