आज असार १५: यस वर्षकाे धान दिवस साङ्केतिक रूपमा मनाइने

१५ असार २०७८, मंगलवार १०:१७ मा प्रकाशित

काठमाडौं । आज असार १५, राष्ट्रिय धान दिवस । यस वर्ष धान दिवसको नारा ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि’ राखिएको छ । खेतमा धानको बिउ रोपेर धान दिवस मनाइँदैछ ।

धान दिवस मनाउँदा किसानहरु बिच कृषि क्षेत्रमा टिकिरहन थप हौसला मिल्ने विश्वास गरिदै आएको छ । मानो रोपेर मुरी फलाउने अवसरका रुपमा देशभरी रोपाँई गरिंदैछ ।

कृषि प्रधान देश भएर पनि कृषिमा बढ्दो परनिर्भरतालाई हटाउन नेपालको प्रमुख खाद्यबालीका रुपमा रहेको धानको महत्व र उत्पादनमा बृद्धिका लागि यो दिवसले थप हौसला प्रदान गरेको छ ।

दही चिउरा खाने

आजको दिनलाई दही चिउरा खाने दिन पनि भनिन्छ । असार १५ लाई धेरैले दही चिउरा खाएर मनाउने गर्दछन् । रोपाँईसँगै दहि चिउरा खाने चलन रहेकोले आजको दिनलाई दही चिउरा खाने दिन पनि भनिन्छ । दही चिउरा खाँदा गति परिने पनि विश्वास छ ।

आज आफ्नो खेतीपाती नहुने र रोपाँई सम्पन्न गरिसकेका किसानहरूले समेत अरूको खेतीमा गई रोपाँईमा मद्दत गर्दछन् । असारे भाखाका हाली गीत गाउँनु रोपाँईको अर्को आकर्षण हो । रोपाँईमा बाउसे र लाठेहरुले गरा सम्याउने र आली मिलाउने काम गर्दछन् भने रोपाहारहरुले धानको बिउ खेतको हिलोमा रोप्दछन् ।

यसैबीच कोभिड–१९ सङ्क्रमणका कारण यही असार १५ गते मुलुकभर साङ्केतिक रूपमा १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ मनाइने भएको छ । सकेसम्म सरकारी फार्म भित्रै सिमित गरेर दिवस मनाइने तयारी गरिएको हो । जिल्लास्तरका कार्यक्रमसमेत सरकारी फार्ममा मनाउन निर्देशन गरिएको कृषि विभागले जनाएको छ ।

यसपटकको दिवसमा सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक (हिलो छ्याप्ने) कार्यक्रम गरिने छैन ।विभागका निमित्त महानिर्देशक जानुका पण्डितका अनुसार यसपाली महोत्सव कै लागि मापदण्ड तय गरेर सकेसम्म मानिस कम सहभागितामा धान दिवस मनाइनेछ । । धान दिवसको महत्व जोगाउन, प्रचारप्रसार तथा परम्परालाई निरन्तरता दिन आवश्यक स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी दिवस मनाइने कृषि विभागले जनाएको छ ।

नेपालमा करीव १४ लाख २५ हजार हेक्टर जमिन धान खेतीका लागि योग्य रहेको कृषि मन्त्रालयको आँकडा छ । नेपालमा बि.सं.२०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो ।

भोकमरीबाट मुक्तिका लागि संयुक्त राष्ट्रसंघले समेत सन् १९६६ लाई धानबाली बर्षका रूपमा मनाएको थियो ।

प्रतिक्रिया दिनुहोस !