यूरो २०२०: स्विट्जरल्यान्ड क्वाटरफाइलनमा, फ्रान्स बाहिरियो

१५ असार २०७८, मंगलवार १०:२५ मा प्रकाशित

काठमाडौं । स्विट्जरल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको साविक उपविजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड अन्तिम आठमा प्रवेश गरेको हो ।

रोमानियामा भएको प्रि–क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड क्वाटरफाइनलमा प्रवेश गर्यो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा स्विट्जरल्यान्ड बलियो बन्यो ।

पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गर्दा युवा स्टार केलियन एम्बाप्पेले गोल गर्न सकेनन् ।

एमबाप्पेको प्रहार स्विट्जरल्यान्डका गोलकिपर यान सोमेरले बचाए । उता, स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन, अकान्जी म्यानुएल, रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे ।

त्यसअघि खेलमा स्विट्जरल्यान्डले अग्रता बनाएको थियो । खेलको १५ औं मिनेटमा हरिस सेफेरोभिचले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए ।

खेलको ५५ औं मिनेटमा स्विट्जरल्यान्डले पेनाल्टी पाए पनि रिकार्डो रोड्रिगेजले गोल गर्न सकेनन् । ५७ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै फ्रान्सलाई १–१ गोलको बराबरीमा ल्याए ।

५९ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्सले २–१ को अग्रता बनायो । ७५ औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै फ्रान्सलाई ३–१ गोलको अग्रता दिलाए ।

स्विट्जरल्यान्डका सेफेरोभिचले हेडरमार्फत खेलको ८१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए । ९० औं मिनेटमा स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा सकियो ।

यससँगै विश्व विजेता फ्रान्स अन्तिम १६ बाट बाहिरिएको छ । यता, स्विट्जरल्यान्ड क्वाटरफाइनलमा पुग्ने छैटौं टिम बनेको छ ।

अब स्विट्जरल्यान्डले क्वाटरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस !