यूरो २०२०: टाइब्रेकरमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन सेमिफाइनलमा

१९ असार २०७८, शनिबार ००:३७ मा प्रकाशित

काठमाडौं । स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै स्पेन युरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा १० खेलाडी सम्मिलित स्विट्जरल्यान्डको दुई प्रहार स्पेनी गोलरक्षक उनाइ सिमोनले बचाएपछि स्पेन अन्तिम चारमा पुगेको हो ।

खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड जमाएर आक्रमण बुनेको स्पेनले आठौं मिनेटमा नै अग्रता लिएको थियो । काउन्टर अट्याकमा केहि अवसर पाएको स्विस टोलीका लागि मुख्य फरवार्ड ब्रिल एम्बोलो घाइते हुँदा थप असर परेको थियो । स्विस टोलीले काउन्टरमा केहि अवसर सिर्जना गरेपनि स्पेनिस गोलरक्षकलाई खासै समस्या दिन सकेन ।

दोस्रो हाफमा स्पेनले एकपछि अर्को आक्रमण बुनेपनि संयमित स्विस डिफेन्सले गोलरक्षकलाई खासै समस्या दिएन । स्पेनका सेन्टर डिफेन्डरबीच तालमेल नमिल्दा पेनाल्टी क्षेत्रभित्र स्विट्जरल्यान्डले बल पोसेसन पाएपछि कप्तान जेर्दान शकिरीले टोलीलाई अग्रता दिलाएका थिए । तर अन्तिम समयमा असिस्ट दिएका रेमो फ्रुएलर नै रातो कार्ड खाएपछि स्विट्जरल्यान्ड दबाबमा रहयो ।

अतिरिक्त समयमा गोलरक्षक सोमरले लगातार बचाउ गर्दै खेल बराबरीमा नै राखेका थिए । दोस्रो हाफमा पनि स्वीस डिफेन्सले लगातार स्पेनको आक्रमणलाई विफल पार्दै खेल टाइब्रेकरमा लग्न सफल भयो । टाइब्रेकरमा स्पेनले पहिलो प्रहार चुकाउँदै सोमरले अर्को बचाउ गरेपनि स्विट्जरल्यान्डका तीन खेलाडीले गोल गर्न नसक्दा स्पेन ३-१ ले विजयी भयो ।

टाइब्रेकरमा स्पेनका लागि कप्तान सर्जियो बुस्केट्सले पहिलो प्रहार नै पोस्टमा प्रहार गरेका थिए । गोलरक्षक सोमरले विपरित दिशामा डाइभ दिएपनि बुस्केट्सको प्रहार गोल हुन सकेन । स्विट्जरल्यान्डका मारियो गभ्रानोभिचले पहिलो पेनाल्टीमा गोल गर्दै टोलीलाई अघि बढाएका थिए । स्पेनका ड्यानी ओल्मोले दोस्रो प्रहारमा गोल गरेपछी फाबियन सेरको प्रहारलाई गोलरक्षक उनाइ सिमोनले बचाए । सेरले दायाँतर्फ गरेको प्रहारलाई सिमोनले सहजै बचाए ।

स्पेनका लागि तेस्रो प्रहार गर्न आएका रोड्रीको पेनाल्टी विफल पार्दै सोमरले स्विट्जरल्यान्डलाई पुन: अघि बढ्ने अवसर दिए । तर म्यानुएल अकान्जीको प्रहारलाई सिमोनले अघिल्लो बचाऊझैं दायाँतर्फ नै डाइभ दिँदै खेल बराबरीमा राखे । जेरार्ड मोरेनोले स्पेनका लागि चौथो प्रहार टप कर्नरमा गोल गरेपछि स्पेन अघि बढ्यो । चौथो प्रहारमा स्विस टोलीका रुबेन भार्गासको प्रहार बाहिरीपछि स्पेनले खेल जित्ने अवसर पाएको थियो ।

मिकेल ओयाराज्बलले पाँचौ पेनाल्टीमा गोल गर्दै स्पेनलाई अन्तिम चारमा प्रवेश गराए । उनको प्रहारमा गोलरक्षक सोमर विपरित दिशामा डाइभ दिएपछि स्पेन खेल जित्न सफल रहयो । अब स्पेनले युरोको सेमिफाइनलमा इटाली र बेल्जियमको विजेतासँग खेल्नेछ । यो दोस्रो क्वाटरफाइनल खेल आज मध्यरात १२:४५ बजे सुरु हुनेछ ।

त्यसअघि खेलको आठौं मिनेटमा नै स्पेनले अग्रता लिएको थियो । कर्नरमा कोकेको प्रहार पेनाल्टी क्षेत्रमा रहेका सबैलाई बिट गर्दै गएपछि पेनाल्टी क्षेत्र बाहिर रहेका जोर्डी अल्बाले गरेको प्रहार गोल भएको थियो । उनको प्रहार स्विट्जरल्यान्डका डेनिस जाकारियालाई लाग्दै पोस्टतर्फ गएपछि गोलरक्षक यान सोमरले उक्त प्रहार रोक्ने कुनै अवसर नै पाएनन् ।

१७ औं मिनेटमा कोकेको फ्रिकिक प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरिएको थियो । २५ औं मिनेटमा कोकेकै कर्नरमा सेजार एज्पिलीक्वेटा हेडरलाई सोमरले सहजै बचाए । ३४ औं मिनेटमा कप्तान जेर्दान शाकिरीको कर्नरमा म्यानुएल अकान्जीको हेडरले पोस्टको दिशा लिन सकेन । ३९ औं मिनेटमा शकिरिकै कर्नरमा विडमरले बलसँग राम्रो सम्पर्क गर्न नसक्दा स्विस टोलीले खेलमा फर्कने अवसर गुमायो ।

दोस्रो हाफमा स्पेनले ६८ औं मिनेटमा बराबरी गोल फर्कायो । स्पेनका सेन्टर डिफेन्डर द्वय पाउ टोरेस र एमेरिक लापोर्टबीच तालमेल नमिल्दा फुस्किएको बल फ्रुएलरले नियन्त्रणमा लिँदै शाकिरिलाई खेलाएका थिए । कप्तान शाकिरीले आफ्नो समय लिँदै गरेको फिनिस गोल भएपछि खेल बराबरीमा आएको थियो ।

अग्रता लिएको १० मिनेट नबित्दै स्विट्जरल्यान्ड १० खेलाडीमा सिमित भयो । फ्रुएलरले जेरार्ड मोरेनोलाई गरेको ट्याकलमा रेफ्री माइकल ओलिभरले सिधै रातो कार्ड देखाएपछि स्विस टोली दबाबमा परेको थियो । स्पेनले त्यसपछि आक्रामणमा थप जोड दिएपनि सोमरले दुई राम्रो बचाउ गर्दै खेल अतिरिक्त समयमा पुर्याए ।

सोमरले अतिरिक्त समयमा लगातार बचाउ गर्दै स्पेनलाई अग्रता लिन दिएनन् । ९६ औं मिनेटमा मिकेल ओयाराज्बलको प्रहारलाई उनले पोस्टमाथि पन्च गरिदिए । १ सय १ औं मिनेटमा पनि ओयाराज्बलको प्रहारमा सोमर नै बाधक बनेका थिए । त्यसको दुई मिनेटपछि ओयाराज्बलकै उत्कृष्ट प्रहारलाई सोमरले डाइभ दिँदै बाहिर पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस !