किन जसपा सरकारमा सहभागी भएन यस्तो छ कारण

३० असार २०७८, बुधबार १०:२३ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । जसपा कार्यकारी समितिको मंगलबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको हो ।

जसपा कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले निर्वाचन आयोगमा पार्टी आधिकारिकताको मुद्दा विचाराधीन अवस्थामा रहेकाले जसपा तत्काल सरकारमा सहभागी नहुने बताए । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सोही गठबन्धनमा रहेको जसपा अध्यक्ष उपेन्द्र यादव समूह पनि सरकारमा सहभागी हुने बताइएको थियो ।

सरकारमा सहभागी हुनुअघि जसपाले पाउने मन्त्रालय र मन्त्रीको संख्या सम्बन्धमा समेत छलफल गर्न बाँकी रहेको स्रोतको दाबी छ । ‘शेरबहादुरजीलाई हाम्रो समर्थन छ, हामी सरकारमा पनि जान्छौं तर अहिलेकै अवस्थामा जान सक्दैनौं,’ यादवले भने, ‘सरकारले कस्तो कार्यक्रम तय गर्छ, त्यसलाई पहिला हामी हेर्छौं । आफूहरूको मुद्दा सरकारले कसरी सम्बोधन गर्छ यी सबै विषयमा छलफल गरेर मात्र सरकारमा सहभागी हुने निर्णय हुन्छ ।’

जसपा कार्यकारिणी समितिको बैठकले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रलाई पुनश्च: ट्र्याकमा फिर्ता गरेको निष्कर्ष निकालेको पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए ।

जसपाले देउवाको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने र मन्त्रालय टुंगिएपछि सरकारमा सहभागी हुने निर्णय गरेको उनले बताए । बैठकले पाँच दलीय गठबन्धनलाई संसदको पूर्ण कालसम्म टिकाउन अधिकतम भूमिका खेल्ने निर्णय गरेको छ ।

जसपा अहिले दुई समूहमा विभाजित छ । एक समूहको नेतृत्व संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले गर्छन् भने अर्को समूहको नेतृत्व अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले गर्छन् । केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा विवाद भएपछि जसपा दुई समूहमा विभाजित भएको हो ।

पार्टी दुई समूहमा विभाजित भएपछि आधिकारिकताको विवाद अहिले निर्वाचन आयोगमा चलिरहेको छ । निर्वाचन आयोगले दुवै समूहलाई आयोगमा बोलाएर सहमतिका लागि छलफल गराए पनि दुवै समूहले छुट्टाछुट्टै रहने बताएका थिए । छुट्टाछुट्टै रहने बताएपछि आयोगमा अहिले पार्टी आधिकारिकताको विषयमा बहस जारी रहेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस !