कोभिड खोप खरिद चुस्त रुपमा अघि बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

३ श्रावण २०७८, आईतवार १२:३० मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडविरुद्धको खोप खरिद कार्य अगाडि बढाउन निर्देशन दिएका छन्। स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल, मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंह लगायतलाई बोलाएर प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन्।

प्रधानमन्त्री देउवाले खोप केन्द्रहरु बढाएर सहजरुपमा खोप लगाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन्।

‘कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन र खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुख लगायतलाई बोलाएर निर्देशन दिएको छु,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत् निर्देशन दिएको कुरा सार्वजनिक गर्दै भनेका छन्।

यस्तै प्रधानमन्त्री देउवाले कोरोनाको तेस्रो लहरको पूर्वतयारीका लागि सीमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, बेड र आईसीयूको प्रबन्ध गर्न पनि निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस !