१८ अंकले घटेको नेप्से ३१८० अंकमा, साढे २० अर्बको कारोबार

३ भाद्र २०७८, बिहीबार १६:२२ मा प्रकाशित

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ । बुधबार ३१९९.०३ अंकको ऐतिहासिक उचाइमा बन्द भएको नेप्सेमा आज १८.२४ अंकले गिरावट हुँदा ३१८०.७८ अंकमा बन्द भएको छ ।

नेप्सेमा केही करेक्सन भए पनि कारोबार रकम भने २० अर्ब नाघेको छ । बुधबार २१ अर्बमाथिको कारोबार भएको बजारमा आज पनि करिब साढे २० अर्बको कारोबार भएको छ ।

आज नेप्सेमा ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता सेयर खरिद–बिक्री हुँदा २० अर्ब ४९ करोड ९२ लाख ११ हजारको कारोबार भएको छ । आज नेप्सेमा गिरावट भए पनि बिमा र अन्य उपसूचक भनेको बढेको छ । विकास बैंक, वित्त कम्पनी, हाइड्रोपावर र लगानी उपसूचकमा भने उच्च गिरावट भएको छ ।

लगानी उपसूचक ४.०३ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक ३.१८ प्रतिशत, विकास बैंक उपसूचक २.५६ प्रतिशत र वित्त कम्पनी उपसूचक २.३० अंकले घटेको छ । यस्तै, बैंकिङ उपसूचक पनि ०.९३ प्रतिशतले घटेको छ ।

यता, निर्जीवन बिमा उपसूचक ३.१९ प्र्रतिशतले वृद्धि हुँदा जीवन बिमा उपसूचक २.५९ र अन्य उपसूचक २.०७ प्रतिशतले वृद्धि भएको छ ।

आज हाइड्रोपावर उपसूचकमा गिरावट भए पनि कारोबार रकममा भने हाइड्रोपावर कम्पनी नै अगाडि रहेका छन् । अरुण काबेली पावर र अरुण भ्याली हाइड्रोपावरको कारोबार रकम अर्ब नाघेको छ । अरुण काबेली पावरको १ अर्ब १६ करोड ७८ लाख ३२ हजारको कारोबार हुँदा अरुण भ्याली हाइड्रोपावरको पनि १ अर्ब १६ करोड ५२ लाख ४० हजारको कारोबार भएको छ ।

यस्तै, नेसनल हाइड्रोपावरको ८३ करोड ३२ लाख २० हजार, रिडी हाइड्रोपावरको ५७ करोड ९८ लाख ६१ हजार र जलविद्युत् लगानी तथा विकास कम्पनीको ४८ करोड ६९ लाख ७ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बन्द भएको छ । जसमध्ये जीवन विकास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर सर्किट लेभलमा बन्द हुँदा जलविद्युत् लगानी तथा विकास कम्पनी, खानीखोला हाइड्रोपावर, पञ्चकन्यामाई हाइड्रोपावरको सेयर मूल्य घटेर सर्किट लेभलमा बन्द भएको हो ।

यस्तै, ङ्यादी पावर ग्रुपको सेयर मूल्य ८.७६ प्रतिशत, माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य ८.१८ प्रतिशतले घटेको छ । जलविद्युत् कम्पनीको नियमक निकाय विद्युत् नियमन आयोगले जलविद्युत् कम्पनीको सेयर मूल्यमा चलखेल भएको र अस्वाभाविक बढेको भन्दै विज्ञप्ति जारी गर्दा कमजोर पफर्मेन्स भएको हाइड्रोपावरको सेयर मूल्यमा उच्च गिरावट आएको हो ।

यता, जीवन विकास लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा बन्द हुँदा रिडी हाइड्रोपावरको सेयर मूल्य ५.८९ प्रतिशत, साना किसान लघुवित्तको ७.५१ प्रतिशत, सीईडीबी हाइड्रोपावरको ६.९५ प्रतिशत र युनाइटेड इन्स्योरेन्सको सेयर मूल्य ६.३२ प्रतिशतले बढेको छ ।

आज कारोबारमा आएका १८६ कम्पनीमध्ये ६१ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १२२ कम्पनीको घटेको छ । त्यस्तै, तीन कम्पनीको भने स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस !